कम्प्युटर भाइरसको लक्षण पहिचान र उपचार बारे २ भागमा विभाजित यस विषयको अघिल्लो पोस्टमा कम्प्युटर भाइरस के हो?, कम्प्युटर भाइरस कसरी सर्छ र कम्प्युटरमा भाइरस संक्रमण भएका लक्षणहरु के के हुन भन्ने बारेमा सामान्य चर्चा गरिएको थियो । हुन त कम्प्युटर आफैँमा एउटा अत्यन्त विविधता पूर्ण एउटा यन्त्र हो र यसमा स्थापना गरिने थिरीथिरीका आपरेटिङ्ग सिस्टम र सफ्टवेयरहरूले यसलाई अझै जटिल बनाएको हुन्छ । त्यसैले एउटा सानो पोस्टमा भाइरसको रोकथाम वा पूर्ण उपचारको बारेमा लेख्नु असम्भव नै छ, तैपनि सामान्य अवस्थामा भाइरसको समस्या समाधान गर्न के के गर्न सकिन्छ भन्ने वारेमा यो पोस्टमा सानो चर्चा गर्दै छु:
भाइरसको रोकथाम:
मानव शरीर र कम्प्युटर भाइरस, संक्रमणको हिसाबमा केही समान छन् त्यसैले भाईरस संक्रमण पछि त्यसको उपचार गर्नु भन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिने तर्फ सोच्नु पर्छ । सामान्यतया अघिल्लो पोस्टमा उल्लेख गरिएका विभिन्न तरिकाबाट भाइरस इन्टरनेट, अर्को कम्प्युटर वा नेटवर्कबाट कम्प्युटरमा प्रवेश गर्ने भएकोले इन्टरनेट चलाउँदा, अन्य पोर्टेवल मिडिया वा मोबाईल फोन आदि कम्प्युटरमा जोड्दा सावधानी अपनाउनु पर्छ । स्थानीय क्षेत्र सञ्जाल वा लोकल एरिया नेटवर्क (LAN) आदिमा काम गर्दा कम्प्युटरका फायरवाल सक्रिय गराउनु पर्छ। इन्टरनेटको माध्यमबाट सक्रमण हुनसक्ने भाइरसबाट सुरक्षाको लागि, आफ्नो ब्राउजरलाई सधैँ अपडेट गर्ने, वा फायरफक्स, गुगल क्रोम आदि सुरक्षीत व्राउजर प्रयोग गर्ने गर्न सकिन्छ ।
अनावश्यक रहेको अवस्थामा कम्प्युटरमा रहेका ब्लुटुथ, फाईल सेरिङ फिचर र वाइफाई आदि बन्द गर्नु पर्छ । कम्प्युटरमा कुनै राम्रो एन्टिभाइरस राख्ने र समय समयमा अइडेट गर्ने गर्नु पर्छ ।
प्राय: रिमुवेबल मिडियाबाट सर्ने भाइरसहरु स्वत: चल्ने वा “अटो प्ले” हुने भएकोले कम्प्युटरका रिमुवेबल मिडिया लाई “अटो प्ले” नहुने गरी सेटीङ्ग गर्नु राम्रो हुन्छ ।
उपचार: माथि भनेजस्तै कम्प्युटरलाई सुरक्षित राख्नु सबैभन्दा राम्रो उपाए हो, तर यदि कम्प्युटरमा भाइरस प्रवेश गरिसकेको छ भने के गर्ने त ?
सामान्यतया भाइरसको पहिचान र निराकरण गर्ने तीनवटा तरिका छन् । त्यसबारेमा यहाँ सामान्य चर्चा गर्दैछु :
भाइरसको म्यानुअल वा प्राकृतिक उपचार:
हुन त यो तरिका सधैँ उपयोगी वा प्रभावकारी नहुन सक्छ। तर इन्टरनेट सुविधा वा एन्टिभाइरस उपलब्ध नभएको अवस्थामा यो विधि अपनाउन सकिन्छ ।
प्राय: कम्प्युटर भाइरसहरु कम्प्युटर बुट हुनेबेलामा कम्प्युटरसँगै स्वत: खुल्ने (अटोस्टार्ट हुने) गर्छन् । त्यसैले यस विधिमा कम्प्युटर खुल्दा आफैँ खुल्ने प्रोग्राम वा ‘सर्विसहरु’ को निगरानी गरिन्छ । यदि कम्प्युटरमा आफूले नहालेको वा आफूलाई जानकारीमा नरहेको प्रोग्राम वा सर्विस चलेको देखिएमा त्यसलाई म्यानुअली नै हटाइन्छ । हरेक भाइरसको प्रकृति र गुणहरु फरक-फरक हुने भएकाले यो तरिका सबैमा एकै तरिकाबाट लाग्दैन् । तर प्राय: विण्डोजका अपरेटिङ सिस्टम भएका कम्प्युटरमा Start>>Run हुँदैं Msconfig टाईप गरेर 'Enter' दबाएपछि खुल्ने वीण्डोमा ‘Startup’ दबाएर कम्प्युटर बुट हुँदा स्वत: खुल्ने प्रोग्राममा कुनै शंकास्पद प्रोग्राम भए नभएको हेर्न र त्यसलाई निस्क्रिय पार्न सकिन्छ । त्यस्तै Services भन्दा तल रहेको "Hide all Microsoft services" मा चेक मार्क लगाएर पनि कम्प्युटर सुरु हुँदा स्वत: चल्ने सर्विसहरुको लिस्ट हेर्न सकिन्छ ।
यदि दुवै ट्याब मुनि कुनै संदिग्ध प्रोग्राम वा सर्विस देखिएमा त्यसको अगाडिको चेकमार्क हटाएर त्यसलाई निष्क्रिय गर्न र साधारण बुटमा डिलिट नभए Safe mode मा कम्प्युटर चलाएर डिलिट गर्न सकिन्छ । साथै पहिचान भएका भाइरस बारेका सूचनाहरु कम्प्युटरको रजिष्ट्रीबाट पनि हटाउनु पर्छ । तर यो प्रकियामा कम्युटरलाई आवश्यक पर्ने प्रोग्राम वा सर्विस निष्क्रिय वा डिलिट भएमा कम्प्युटर बुट नै नहुनसक्ने समेत भएकोले यो काम पक्का भएपछि होशियारी पूर्वक गर्नुपर्छ।
एण्टी भाइरसको प्रयोग:
माथि भने जस्तै भाइरस म्यानुअल हटाउने उपाय एकदमै प्रभावकारी र सरल नभएकोले प्राय: भाइरस हटाउन एण्टिभाइरसकै प्रयोग हुने गर्छ। भाइरस हटाउन यो प्रभावकारी र सरल विधि हो।
एण्टिभाइरसको प्रयोगको बारेमा बजारमा हाल स:शुल्क र नि:शुल्क धेरै किसिमका एन्टिभाइरसहरू उपलब्ध छन् । यहाँनेर एउटा उल्लेख गर्नै पर्ने कुरा के छ भने सफ्टवेयरको सम्बन्धमा जत्ति महँगो भयो उत्ति राम्रो भन्ने कुरा सधैँ लागू हुँदैन। साथै ‘नाम चलेका’ सफ्टवेयर नै सधैँ अब्बल पनि हुन्छन् भन्ने कुरा पनि गलत हुन सक्छन् ।
हुन त, सबैको आ-आफ्नै चयन हुनसक्छन्, तर मेरो आफ्नो अनुभवमा भने हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन्:
- AVG Free
- Microsoft Security Essentials
- Avira AntiVir Personal
- avast! Free Antivirus
- PC Tools AntiVirus
म्यानुअल भन्दा केही सजिलो तर कम्प्युटरमा एन्टिभाइरस इन्स्टल नगरी भाइरस हटाउन सकिने यो अर्को विधि हो । यदि तपाई कम्प्युटरमा कुनैपनि एन्टिभाइरस राख्न चाहनुहुन्न वा तपाईँको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर छैन र तपाईँसँग उच्च गतिको इन्टरनेट छ भने तपाई यो विधिबाट पनि कम्प्युटर स्क्यान र भाइरस हटाउन सक्नुहुन्छ । इन्स्टल गरिरहनु नपर्ने भएकोले केही सजिलो भएपनि अनलाइनमा स्क्यान हुनेहुँदा यो विधि कम्प्युटरमै राखिएको एण्टीभाइरस जत्ती छिटो छरितो भने हुँदैन् ।
अनलाइन भाइरस स्क्यान गर्न मिल्ने केही सेवा प्रदायक र तीनका ठेगाना यस प्रकारका छन्:
यी बाहेक Kaspersky File scanner र Virus Chief ले पनि कम्प्युटरमा भएका सन्दिग्ध वा शंकास्पद फाईल भाइरस भए-नभएको निर्क्योल गर्न मद्दत गर्छ । स्मरण रहोस यी मध्य केही साईटहरु केवल ईन्टरनेट एक्सप्लोररमा मात्रै खुल्न सक्छन् ।
अन्तमा कम्प्युटर भाइरस सम्बन्धमा केही भ्रम र तथ्यहरू:
भ्रम
|
तथ्य
|
| ईन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन् | ईन्टरनेट नभए पनि पेन ड्राइव, सिडि, मोबाइल फोन र कम्प्युटर सँग जोडिएका डिजिटल क्यामरा बाट समेत भाइरस सर्न सक्छन् । |
| भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ । | भाइरसले डाटासम्म विगार्न सक्ने भएपनि कम्प्युटर हार्डवेयर भने विगार्न सक्दैन । |
| .exe फाइलमा मात्रै भाइरस हुन सक्छन् । | .exe मात्रै हैन, आजकल फ्ल्यास, पिडिएफ अनि वर्ड र एक्सेलको रुपमा पनि भाइरस आउन सक्छन् । |
| कम्प्युटरका समस्या भाइरसका कारणले मात्रै आउँछन् | अधिकांश समयमा कम्प्युटरका समस्या भाइरसका कारण नभएका पनि हुन सक्छन् । |
| फायरवाल ईनेवल गरेपछि एन्टिभाइरस नहाले नि हुन्छ । | फायरवलाले नेटवर्कबाट छिर्ने केही शंकास्पद गतिविधिको निगरानी गर्ने भएपनि भाइरसबाटै बचाउन सक्दैन् । |
| प्राय: भाइरस बनाउनेले ठुला ठूला कम्पनी र व्यक्तिका कम्प्युटरलाई मात्रै निसाना बनाउँछन् । | भाइरस सरुवा रोग जस्तै हो, जुन, जस्तो कम्प्युटरमा पनि लाग्न सक्छ । |
माथि
उल्लेख गरि सकिएको छ। भाइरस कम्प्युटरका लागि हानिकारक भएपनि भाइरस लाग्ने
बित्तिकै आत्तिनु पर्दैन। एन्टिभाइरसको प्रयोग गरेर वा नगरीकनै पनि
कम्प्युटर भाइरसलाई हटाउन सकिन्छ र यही पोस्टमा बताइएका केही सतर्कता
अपनाएको खण्डमा यसको संक्रमण हुनुबाटै बच्न पनि सकिन्छ
।
Happy Computing and Happy New Year !!!
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.