Monday, December 3, 2012

पहिचान ! (लघुकथा)

 
उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।
लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।
प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।
उनले कैदी, सन्त, जँड्याहा, जोगी सबैमा यसको सफल प्रयोग गरी सकेका थिए र आजभने देशकै ३-४ जना अग्रज नेताहरूद्वारा रिबन कटाएर यसलाई सार्वजनिक गर्दै थिए।
देशका प्रकाण्ड नेताहरू आए र ड्यासबाट यस यन्त्रले विश्वमै अपराध निर्मूल गर्न ठूलो योगदान दिने बताए । यन्त्रको स्विच खोलियो र नेताहरू सो यन्त्र राखिएको ठाउँमा पुगेर हातमा कैँची लिएर रिबन काट्न तयार भए । नेताहरू यन्त्रको वृत्तमा पुग्नासाथ अचानक स्वचालित यन्त्रबाट “चोर !”, “फटाहा!”, “ठग!”, “जाली!” ...भन्ने ध्वनी परिणाम मात्र आईरह्यो ।
दर्शकहरू असमझ देखिए भने यन्त्रका आविष्कारक अलि असहज …। तर के हो कुन्नि, सबै नेताहरू रिबन काटि सकेर आ-आफ्नो कुर्सीमा फर्केपछि भने यन्त्रबाट आवाज आउन आफैँ बन्द भयो ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.