Friday, December 7, 2012

कम्प्युटरबाट डुप्लिकेट र अनावश्यक फाइलहरु हटाऔं !

त्यसो त आजकलको समयमा कम्प्युटरका हार्डडिस्कहरू पहिलेका तुलनमा धेरै गुणा भण्डारण गर्ने क्षमता राख्छन् र कम्प्युटरका हार्डडिस्कमा 'स्पेस' कम भएर आउने समस्या कमै देखिन्छन् । तैपनि कम्प्युटरका हार्डडिस्कलाई सकेसम्म चुस्ता र छरितो बनाउन अनावश्यक फाइल वा डेटाहरूलाई त्यसबाट हटाउनु नै उपयुक्त हुन्छ ।
सामान्य प्रयोगको अवस्थामै पनि र कहिले भने जान-अन्जानमै कम्प्युटरमा धेरै खाले अनावश्यक वा प्रतिलिपि फाइलहरू बन्छन्, समयको अन्तरालमा यस्ता अनावश्यक वा प्रतिलिपि फाइलहरूले बढी भन्दा बढी स्थान ओगट्दै जाँदा हार्डडिस्कको खाली स्पेस कम हुने मात्रै है, कम्प्युटरको गति पनि विस्तारै कम हुँदै जान्छ । अत: आजको पोस्टमा कम्प्युटरमा जम्मा हुने यस्ता अनावश्यक वा प्रतिलिपि डेटाहरूलाई हटाउने केही साना तर वहनीय र अत्यन्तकै असरदार सफ्टवेयरहरूको बारेमा चर्चा गर्दै छु ।
माथि नै भनि सकिएको छ कि अनावश्यक डेटाहरूलाई हटाउँदा कम्प्युटर हार्डडिस्कको स्पेस बच्ने मात्रै हैन, कम्प्युटर पनि केही हदसम्म छिटो पनि हुन्छ । अत यस्ता अनावश्यक डेटाहरू हटाउन तपाई निःशुल्क उपलब्ध हुने निम्न पोर्टेवल सफ्टवेयरहरू प्रयोग गर्न सक्नुहुन्छ :
Awesome Duplicate Photo Finder: नाम अनुसार नै यो एउटा अत्यन्तै प्रभावकारी सफ्टवेयर हो । यसले तपाइँको कम्प्युटरमा जम्मा भएका उस्तै वा उस्तै खाले फोटोहरूको एकदम छिटो पहिचान गरी तीनलाई हटाउन मद्दत गर्छ । सामान्यतया समयको अन्तरालमा एउटै वा उस्तै फोटोहरू हामीले कम्प्युटरका भिन्न भिन्न ड्राइव वा फोल्डरमा राखेका हुन्छौं । Awesome Duplicate Photo Finder ती सबै फोटोहरूलाई 'प्रिभ्वू' र कुन राख्ने, कुन डिलिट गर्ने भन्ने अप्सनका साथ देखाइदिन्छ । जसका कारण तपाई आफूलाई अनावश्यक रहेका वा प्रतिलिपिका रूपमा रहेका फोटोहरूलाई हटाउन सक्नुहुन्छ ।
जम्मा १.४४ एमबी साइज रहेको यो सफ्टवेयर खोल्ने बित्तिकै तपाइँले तलको जस्तै इन्टरफेस देख्नुहुने छ:
Main Screen
सुरुमा यसको "Settings" मा क्लिक गरेर कुन कुन फर्म्याटका फाइलहरूको डुप्लिकेट खोज्ने विकल्प चयन गर्नुस (साधारण अवस्थामा चित्रमा जस्तै सबै कोष्ठमा चेक मार्क राख्दा खोज्ने समय केही बढी लागे पनि बढि भन्दा बढि उस्तै फाइलहरू भेटिनेछन्) । अब "Folders" भन्दा पछाडिको "+" मा क्लिक गरेर तपाई कुन ड्राइव वा कुन फोल्डरमा डुप्लिकेट फोटो खोज्ने तय गर्न सक्नुहुन्छ । फोल्डरको चयन पश्चात्: "Start search" मा क्लिक गरेपछि यसले सो फोल्डरमा भएका समान वा उस्तै फोटोहरूको खोजी सुरु गर्नेछ ।
कम्प्युटरको प्रोसेसर र अन्य हार्डवेयर कन्फिगरेसनको आधार र फोल्डरमा रहेका फोटोको सङ्ख्याको हिसाबमा समान फोटो खोज्ने समयावधिमा केही घटीबढी पर्न सक्ने भएपनि यसको रिज्लट पक्कैपनि अविश्वसनीय जस्तै देखिनेछ । यसले मानिसको अनुहार मात्रै हैन, कुनै ठाउँ वा भौतिक संरचनाको फोटो समेत उस्तै रहेको अचम्मसँग पत्ता लगाउँछ र केही मिनेटमै तपाईको फोल्डरमा भएका सबै समान तस्विरहरूलाई ओरिजनल तस्विर कहाँ छ, डुप्लिकेट तस्विर कहाँ छ र ती दुईमा कति प्रतिशत समानता छ भन्ने सूचकाङ्क सहित सूचीकृत गरिदिन्छ । तलको चित्रमा हेर्नुस: ( मेरोमा २२६७ वटा तस्विर खोज्दा यसमा जम्मा १०२ वटा समान तस्विर भेटिएको छ र यसको लागि जम्मा ४ मिनेट २९ सेकेण्ड लागेको छ )
Search Result
अब लिष्टमा रहेका तस्विरहरूलाई एक एक गरी प्रीभ्यु हेर्दै फोटो मुनि भएका पहिलो 'एरो' आइकनको मद्दतले अन्तै सार्न, दोस्रो "Browse" को मद्दतबाट सो फोटो रहेको फोल्डरमै गएर सो तस्विर हेर्न वा तेस्रो आइकनको माध्यमबाट सो फोटोलाई डिलिट गर्न सक्नुहुन्छ ।
Duplicate Photo Finder
यी विकल्पहरू दुबै तर्फका फोटो मुनि देखिने भएकोले तपाई आफ्नो चाहना बमोजिम कुन फोटो हटाउने र कुन राख्ने सजिलै तय गर्न सक्नुहुन्छ । तपाई Awesome Duplicate Photo Finder यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।
Duplicate Music Files Finder: हो!, यो पनि नामबाटै के काम गर्छ भन्ने चिनिने सरलतम् र सूक्षतम निःशुल्क र पोर्टेवल सफ्टवेयर हो । जम्माजम्मी ६४८ के. बी. मात्रै रहेको यो सफ्टवेयर पनि सरल हुँदा हुँदै पनि एकदमै उपयोगी र असरदार समेत छ ।
माथिको सफ्टवेयरले उस्तै तस्विरको पहिचान गरे जस्तै यसले भने कम्प्युटरमा रहेका एउटै वा उस्तै म्युजिक फाइल वा एम. पि. थ्री को पहिचान गर्छ र कम्प्युटरमा रहेका डुप्लिकेट म्युजिक फाइललाई हटाउन मद्दत गर्छ ।
यसलाई खोलेर तलको चित्रमा जस्तै "Add folder" गरी आफूले डुप्लिकेट म्युजिक फाइल खोज्न चाहेको फोल्डर वा फोल्डरहरू चयन गरी "Start Search" गर्नुस। अब केही सेकेन्डमै तपाइँको फोल्डरहरूमा भएका समान म्युजिक फाइलहरू सफ्टवेयरको माथिल्लो भागमा सूचीकृत भएर देखिनेछन् । अब तपाई आफूले हटाउन चाहेको फाईल हटाउन र राख्न चाहेको लाई मात्रै राख्न सक्नुहुन्छ ।
Duplicate Music Finder
तपाई पनि Duplicate Music Files Finder प्रयोग गरेर आफ्नो कम्प्युटरमा रहेका डुप्लिकेट म्युजिक फाइलहरू हटाउन चाहनुहुन्छ भने यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।
CCleaner: यो सायद विश्वमा एकदमै बढी प्रयोग भएको कम्प्युटर क्लिनर हुन सक्छ । निःशुल्क पाइने र पोर्टेवल भएकोले मात्रै हैन, एकदमै सानो साइजमा आउने र कम्प्युटरको रजिष्ट्री देखि जन्क फाइलहरू समेत कम्प्युटरबाट सजिलै हटाउन सकिने भएकोले यो कम्प्युटर प्रयोगकर्ताहरू बीच अत्यन्त लोकप्रिय छ । नामले 'क्लिनर' भने पनि यसमा जंक फाइल सफा गर्ने बाहेकका अन्य धेरै उपयोगिताहरू छन् ।
CCleaner 3
यसमा भएको Cleaner ट्याबबाट Analyze गरी Run Cleaner गरेर कम्प्युटरमा थुप्रिएका टेम्पोरेरी धेरै प्रकारका अनावश्यक फाइलहरू हटाउन सकिन्छ भने;
CCleaner5
Registry ट्याबबाट Scan for Issues र Fix selected Issues गरेर रजिष्ट्रीलाई पनि सफा गर्छ। यी बाहेक यसको Tools मा भएको Uninstall, Startup, System Restore, Drive Wiper बाट अन्य धेरै उपयोगीता लीन सकिन्छ ।
कम्प्युटर प्रयोगमा आउन थालेपछि त्यसमा जान-अन्जानमै अनेक थरी अनावश्यक फाइलहरू बन्ने गर्छन्, कहिले कुनै अनइन्स्टल गरी सकेको प्रोग्रामका सपोर्टीङग फाइलहरू त कहिले कुनै डेटा फाइल वा अन्य प्रोग्रामका लिङ्क, सर्टकट र त्यस्तै केही स्वचालित रूपमा थुप्रिदैं जाने अनावश्यक कुराहरूलाई हटाउन यो एकदमै सरल र सहि प्रोग्राम हुन सक्छ ।
अत: केही समयको अन्तरालमा यसको प्रयोग गर्दा कम्प्युटरमा रहेका अनावश्यक फाइल र अनुपयोगी रजिष्ट्री समेत सफा हुने हुनाले यसको प्रयोगले कम्प्युटरको हार्डडिस्कको स्पेस बच्ने मात्रै हैन् , कम्प्युटरको गतिमा समेत अनुकूल प्रभाव पर्छ र कम्प्युटर पहिले भन्दा छिटो छरितो हुन्छ । यदि तपाई पनि यसको प्रयोग गर्न चाहनुहुन्छ भने सिधै यहाँ बाट यसको वहनीय अर्थात् पोर्टेवल भर्सन डाउनलोड गर्न सक्नुहुन्छ ।
कम्प्युटरको हार्डडिस्क जत्ति नै ठूलो भएपनि यसबाट दोहोरीएका तस्विरहरू, फोटोहरु वा यस्ता अनावश्यक फाइलहरू हटाउनु नै उचित हुन्छ र यसबाट कम्प्युटर हार्डडिस्कको स्पेस बच्नुको साथै कम्प्युटरको गतिमा पनि  पक्कै सुधार आउने छ ।
Happy Computing Smile

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.