Tuesday, October 30, 2012

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

                         
Search Nepali Blogपृष्ठभूमि:
नेपाली ब्लगको मात्रै खोजी गर्ने एउटा सर्च साइटको आवश्यक्ता रहेको कुरा केही समय अगाडि देखि नै महसुस भएको हो । गुगलले खुला गरेका गुगलकै खोजी संयन्त्र वा प्लेटफार्म प्रयोग गरेर आफ्नो छुट्टै वा आफूले चाहेजस्तो सर्च साईट बनाउन मिल्ने भए पनि बनाउने तालमेल भने मिलेको थिएन। माथि भनेजस्तै गुगलकै नि:शुल्क प्लेटफार्ममा आफूले चाहेको मात्रै साइट खोज्न मिल्ने र भनेको जस्तै रंगरुपमा साइट तयार गर्न मिल्ने र यसको लागि खासै प्राविधिक ज्ञान नचाहिने भए पनि धेरैदिन देखि समयाभावका कारण यो काम गर्न भ्याइरहेको थिइँन ।
नेपाली ब्लग सञ्जाल
इन्टरनेटको सुलभता र नेपाली युनिकोडको विकासका कारण नेपाली ब्लगहरुको सङ्ख्या पनि दिनदिनै बढ्ने क्रममा छन् । सङ्ख्यात्मक वृद्धि मात्रै खासै उल्लेख्य उपलब्धि हैन र नेपाली ब्लगको प्रमुख समस्या अर्थात् सक्रिय पाठकको अभाव अझै यथावत नै छ। तर पनि हेरक क्षेत्रमा सङ्ख्यात्मक वृद्धि सँगै प्रतिस्पर्धा र प्रतिस्पर्धा सँगै गुणात्मक सुधार आउने नियम अनुसार नेपाली ब्लगको गुणस्तरमा पनि यो सङ्ख्यात्मक वृद्धिले पक्कै पनि सकारात्मक भूमिका खेल्ने नै छ भन्नेमा व्यक्तिगत रूपमा भने म विश्वस्त छु।  
नेपाली ब्लगरहरुको मूल घर अर्थात् http://bloggers.com.np मा करिब ११०० जत्ति ब्लग सूचिकृत भएका छन्, भने हाम्रो सर्कल मा विगत ६ महिनाको अवधि सम्ममा अद्यावधिक भएका ब्लग करिब ५०-५५ जत्ति छन् । नेपाली ब्लगहरुको फिड अपडेट हुने अर्को साइट नेपाली भाषाका ब्लगहरु  र http://bloggerofnepal.blogspot.com/मा सूचीकृत भएका र विगतका ६ महिना भित्र अपडेट भएका ब्लगलाई सक्रिय ब्लग मान्ने हो भने करिब ८०-९० ओटा ब्लग यस “सक्रिय ब्लग”को दायरामा पर्छन् ।
हुन त यी र यस्तै साइटहरूमा सूचीकृत भएका ब्लग मात्रै नेपाली ब्लग पक्कै होइनन्, ती बाहेकका केही व्यक्ति र संस्थाहरुले समेत कसैले नि:शुल्क वेबस्पेस त कसैले आफ्नै डोमेन किनेर समेत ब्लग चलाएका छन् । तर पनि, मेरो मोटामोटी अनुमान अनुसार नियमित अपडेट हुने र नेपाली ब्लगको सङ्ख्या करिब १००-१५० को हाराहारीमा छ र यो बढ्ने क्रममै छ ।
नेपाली ब्लग सर्च किन ?
अब कुरोको चुरो तर्फ लागौँ । सक्रिय ब्लगको सङ्ख्या १५० नै मान्ने र एकजना सक्रिय ब्लगरले घटिमा महिनाको दुइटा ब्लग लेख्छन् भन्ने न्यूनतम आकलन गर्ने हो भने पनि वर्ष दिनमा नेपाली ब्लग भण्डारमा कम्तिमा पनि ३६०० ओटा नयाँ टाँसो थपिन्छन् । त्यो बाहेक ‘कम सक्रिय’ र ३ महिने वा ६ महिने ब्लगरहरुको पनि त्यत्ति नै अनुपातमा हिसाब गर्दा र यसको बढदो प्रयोगको अनुमान गर्दा हरेक वर्ष ७०००-७५०० नयाँ पोस्ट नेपाली ब्लगमा थपिदैँ जान्छन् ।  यस्तो अवस्थामा कुनै दिन कुनै एउटा विषयमा नेपाली ब्लगरहरु मध्य कसैले केही लेखेका थिए वा थिएनन भनेर हेर्नु पर्‍यो भने निकै समय खर्चिनु पर्ने हुन सक्छ । 
हुन त गुगल, याहु, बिङ जस्ता अनेकौँ सर्च इन्जीन यस्तै खोजी कार्यका लागि नै हुन । तर २१ पुस्ताले २१ शताब्दी निरतन्तर पढे पनि नसक्कीने सामाग्री जम्मा भैसकेको इन्टरेटको सञ्जालमा खोज्न मिल्ने भए पनि आफूले चाहेकै कुरा झ्वाट्टै भेट्न मुस्किलै हुन्छ ।
त्यही नेपाली ब्लग खोजी सरल बनाउने उद्देश्य लिएर नै यो साइट बनाइएको हो । त्यो बाहेक कपि-पेस्टका कारण हैरान भएका ब्लगरहरुलाई पनि आफ्नो ब्लग कहाँ कसले कपि पेस्ट गरेको छ भन्ने पत्ता लगाउन पनि यो साइट सहयोगी हुनसक्छ । किनकि यो नेपाली ब्लग खोजी साइटले खाली नेपाली ब्लग भित्रका शब्द वा सामाग्री मात्रै खोज्छ र नेपाली ब्लग बाहेकका अन्य साइट लाई वास्ता गर्दैन । जसका कारण नेपाली ब्लग खोजी छिटो र सरल हुन जान्छ । मतलब तपाईँले यो साइटमा  ‘नेपाल सरकार’, ‘सगरमाथा’ वा ‘महाभारत’ लेखेर खोज्नु भयो भने यसले तपाईँलाई नेपाल सरकारको आधिकारीक पेज, सगरमाथा सम्बन्धि प्रसिद्ध साइट वा महाभारत किताब भेटिने ठाउँमा हैन नेपाली ब्लगरहरुले सो सम्बन्धमा केही  लेखेका रहेछन भने केबल तीनै ब्लग पेजमा मात्र लैजाने छ ।
नेपाली ब्लग सर्च:
तपाईँले कुनै बेला एकजना नेपाली ब्लगरले ओजोन तहको विनाशको बारेमा लेखेको पोस्ट पढ्नु भएको थियो तर कसले लेखेको र कुन ब्लगमा थियो बिर्सनु भयो । वा तपाईँलाई कुनै नेपाली ब्लगरले ‘यति’ वा ‘बुद्ध दर्शन’को बारेमा केही लेखेका छन् कि छैनन् खोज्नु पर्यो‘ वा छोटकरीमा नेपाली ब्लगमा कुनै कुरा लेखिएका छन् वा छैनन् भनेर खोज्न मात्रै हैन, तपाईँले पहिले कतै पढेको तर अहिले ठ्याक्कै याद नआएको विषयवस्तु खोज्नलाई पनि सजिलो होस भनेर यो सर्च साइट बनाइएको हो ।
अबका दिनमा तपाईलाई नेपाली ब्लगमा प्रयुक्त कुनै पनि शब्द, वाक्य वा ‘कि वर्ड’ खोज्नु पर्‍यो भने वा नेपाली ब्लगमा यो कुरा लेखिएको छ कि छैन होला भन्ने जान्नु पर्‍यो भने तपाई सिधैँ नेपाली ब्लग खोजी मा जान सक्नुहुन्छ ।
निर्माण, सञ्चालन र सुधार:
केही धेरै समय दिएको भए वा केही बढी मेहनत गरेको भए यो साईट अझै बढी उपयोगी र सरल हुन्थ्यो होला। तर सुरुवात पहिला गरौँ अनि सुधार गर्दै जाउँला भनेर अहिलेलाई जे जस्तो हालतमा छ त्यस्तै हालतमा यसलाई खुल्ला गरेको छु ।
हाल यसमा http://bloggers.com.np, हाम्रो सर्कल, नेपाली भाषाका ब्लगहरु आदिमा सूचिकृत करिब साढे एघार सय नेपाली ब्लग र अन्य केही नेपाली ब्लगहरु समेत गरी करिब १२०० वटा नेपाली ब्लगहरु सामेल गरिएको छ । अर्थात् ती १२०० वटा ब्लगहरु मध्य कुनै पनि ब्लगमा प्रयुक्त कुनै पनि शब्द वा “कि वर्ड” यसबाट खोज्न मिल्छ ।
हुन त मैले मेरो व्यक्तिगत जानकारीमा आएका बढी भन्दा बढी नेपाली ब्लगहरुलाई मैले यसमा समाविष्ट गर्ने प्रयास गरेको छु। तर यदि कसैको ब्लग यसमा समाविष्ट नभएको भए वा कसैले भर्खरै नयाँ ब्लग खोल्नु भएको छ भने कृपया जानकारी गराउनु होला । म यसलाई समय समयमा अपडेट गर्ने छु । यसलाई अझ कसरी बहुउपयोगी बनाउन सकिन्छ भन्ने बारेमा केही सुझाव भएमा पनि कृपया लेख्नु। होला ।
ल त, अब देखि नेपाली ब्लग खोजी गर्न परेमा वा नेपाली ब्लगमा प्रयुक्त कुनै शब्द, वाक्य वा जानकारी चाहीएमा  सिधै http://searchnepaliblog.blogspot.com/ मा जानु होला ।
नोट: यहाँ ‘नेपाली ब्लग’ भन्नाले नेपालीहरु द्वारा कुनै पनि भाषामा लेखिएको ब्लग र अरु कोही पनि व्यक्ति द्वारा नेपाली भाषामा लेखिएको ब्लग भन्ने बुझ्नु पर्छ ।
Happy Blogging!
Happy Searching!!